वैदिक अवधारणामा भाग्यमानी भनेको के हो भन्ने व्याख्या गर्न एउटा चर्चित हिन्दी गीतको सहारा लिँदा सजिलो पर्छ– ‘किस्मत वालों को मिलता है प्यार के बदले प्यार।’ मतलब जो भाग्यमानी छ उसलाई मात्र आफूले गरेको प्यारको बदलामा प्यार मिल्दछ। तपाईंले गर्ने प्यार निजी अधिकार हो।
तपाईंले प्यार गर्नु हुन्छ भन्दैमा अर्काले पनि तपाईंलाई प्यार गर्नु पर्छ भन्ने मान्यता कपटपूर्ण हो। किनकि अर्को व्यक्तिले कसलाई प्यार गर्ने वा नफरत गर्ने त्यो उसको नितान्त निजी विषय हो। कसैलाई प्यार गर्नु तपाईंको कर्म हो। तपाईंले प्यारको बदलामा प्यार पाउनु भयो वा घृणा नै पाउनु भयो भने पनि त्यो तपाईंकै कर्मको फल हो।
कुनै पनि कर्म वा लगानी बिना अथवा थोरै लगानीबाट धेरै प्रतिफल पाउने घटनालाई भाग्यमानी सम्झने मान्यता वैदिक मान्यता होइन। तपाईं घरमा लोग्ने–स्वास्नी हुनुहुन्छ र घरको निर्णयमा तपाईंको ५० प्रतिशत चल्छ भने तपाईं शतप्रतिशत आफ्नो अधिकारको उपयोग गरिरहनुभएको छ। ५० भन्दा माथि जति तपाईंको चल्छ, त्यो तपाईंको बलमिचाइँ रहेको शास्त्रीय मान्यता छ।
जब तपाईं कुनै कर्म गर्नु हुन्छ र त्योबापत फल वा प्रतिफल प्राप्त गर्नु हुन्छ भने तपाईं वास्तवमै भाग्यमानी मानिस हो। यो व्यावहारिक यथार्थ हो। यति सानो सामान्य कुरा नबुझेर आज हामी हाम्रै परिवारलाई आफ्नो परिवार आफ्नो रहेको अनुभूति दिन सकिरहेका छैनौं।
आफ्नो निवासलाई आफ्नो मन बस्ने आरामदायी घर बनाउन सकिरहेका छैनौं। हामी आफ्नै घरमा बिरानो भनेर सामाजिक सञ्जालमा आफन्त खोज्न आफ्नो भड्किएको आत्मासहित उपस्थित हुन्छौं।
आफ्नै घरका हाम्रा र राम्रा मोतीहरूसँग बोलचाल नै बन्द गरी बसेका छौं। सामाजिक सञ्जालमा दसौँ हजार साथी बनाएर कसले लाइक गर्ला, कसले कमेन्ट गर्ला भन्दै जोखना हेरेर जीवन कटाइरहन्छौं।
प्रवासी जीवन आफैंमा अत्यधिक कष्टकर चरम सम्झौताको जीवन हो। आफ्नो भएको कमाएको साथी भाइ, समाज, प्रतिष्ठा र विश्वसनीयता सबैलाई तिलाञ्जली दिएर घर्केको उमेरमा राम्रो मेसो पाइनसकेको विदेशी परिवेशमा ग्राउन्ड जिरोबाट जीवनको पुनः सुरुवात गर्न पर्छ।
यस्तोमा आइपर्ने संवेदनशील परिस्थितिको मुकाबिला गर्न वैदिक अध्यात्मको सहारा अत्यन्त प्रभावकारी बनेको भुक्तभोगीहरूले बताएको मैले निकै सुनेको छु। मेरो भोगाइ पनि त्यस्तै रहयो।
वैदिक संस्कृत शब्द आत्मनलाई मानिसहरू आत्मा भनेर अनुवाद गरिदिन्छन्। आत्मन सम्बन्धको ज्ञान तथा विज्ञानलाइै समेत अध्यात्म, आध्यात्मिकता वा स्पिरचुयालिटी भनेर अनुवाद गरिएको भेटिन्छ। यो अनुवाद कत्तिको सही हो, त्यो आफैमा विवादास्पद छ।
आज पनि धेरै मानिसहरू यो तथ्यबाट अनभिज्ञ छन् कि ऋग्वेदभित्र आत्माको कुनै पनि अवधारणा अघि सारिएको छैन। ऋग्वेदका पदहरू पञ्च–महाभूत, पञ्च कर्मेन्द्रिय (हात, खुट्टा, मुख, गुद्वार र प्रजनन अङ्ग), पञ्च ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला), इन्द्र र मनको चर्चा छ।
पञ्च महाभूतले प्रकृतिका मुख्य पाँच शकल तत्व अग्नि (आगो), पृथ्वी, वायु (हावा), आकाश (ईथर) र जल (पानी) लाई जनाउँदछ। मन, बुद्धि, चित्त र अहंकारलाई भने अन्तःकरण भनिन्छ।
जीव विज्ञानको आँखाबाट मानव शरीरलाई नजिकबाट नियाल्दा नियमित बाँच्न जरुरी हुने तापमान तथा अन्य ऊर्जालाई अग्नि वा आगो शब्दले अभिव्यक्त गर्दछ। विभिन्न पदार्थबाट संयोजित शरीरको आकार दिने तत्व पृथ्वी तत्व हो।
पृथ्वी तत्वमा अनगिन्ती तत्वहरू समावेश हुन्छन्। सास फेर्न चाहिने हावा बायु तत्व हो। तरलता दिने तत्व जल वा पानी तत्व मानिन्छ। खाली स्थान जहाँ यी चार तत्त्वहरू आफैं अटाउँछन् र आपसमा मिलेर काम गर्ने स्थान उपलब्ध हुन्छ त्यो आकाश वा इथर हो।
वैदिक चलनअनुसार पञ्च महाभूत भनेर चिनिने पाँच तत्वहरूको मानव जीवनमा रहेको महत्वलाई मनन गरी सम्मान स्वरूप देवी वा देवको प्रतीकको रूपमा पूजा गरिन्छ।
पूजा गर्नुको अर्थ उनीहरूले आफूलाई लगाएको गुणको प्रशंसा गर्नु हो। उनीहरूको देनले आफ्नो जीवनमा आएको सहजता बापत उनीहरू प्रति धन्य बन्नु हो। आफ्नो जीवनलाई सहज पु¥याउनेहरूसँग आफ्ना अन्य दुखका कुराहरू समेत थुपार्ने वा अन्य माग राखी यो लेऊ वा उ देऊ भनी पुकार्नु वैदिक मान्यताको पूजा हुनै सक्दैन। त्यो पूजाको नामको विकृति हुन जान्छ।
जीवनमा आफूले प्राप्त गर्ने हरेक फलको पछाडि आफ्नो संस्कार र कर्मको देन हुन्छ। न कि पूजा आजाको। वैदिक मान्यतामा पूजाआजा कुनै फल प्राप्त गर्न अथवा आफ्ना अभावको पूर्तिका लागि गरिने कार्य होइन।
त्यसको विपरीत आफूसँग जे छ त्यसको महत्व महसुस गर्न र त्यसबापत आफैंलाई धन्य सम्झन आयोजना गरिने औपचारिक शुभकार्य हो। पञ्च महाभूत अन्तर्गतको हरेक तत्त्वको प्राकृतिक संरचना तथा हाम्रो शरीरमा उनीहरूको देनको प्रकृति अनुरूप अग्नि र वायुलाई देव (पुलिङ्ग) मानिन्छ।
जल र पृथ्वीलाई देवी (स्त्रीलिङ्ग) ठानिन्छ। आकाश (ईथर) भने नेगेटिभ वा पोजेटिभ दुवै गुण नभएको न्युट्रल तेस्रो लिङ्गी अर्थात् आदिम शक्तिशिव पार्वती।
तपाईं वाल्मीकि रामायण वा व्यासको महाभारत गौर गरी हेर्नुहोस्। सतहीमा नरही गहिरिनुस्। त्यहाँ देवी र देव जस्ता शब्दहरू आज हामीले अङ्ग्रेजीमा महोदया र महोदय भन्न प्रयोग गर्ने मिस वा म्याडम वा सर जस्तै विशेषणको रूपमा उपयोग भएको महसुस गर्नु हुने छ।
सारमा देवी र देव जस्ता शब्दहरू कुनै पनि सन्दर्भमा ईश्वर वा ईश्वरको प्रतिनिधि वा सर्वोच्च शक्ति सङ्केत गर्ने प्रयोग भएको पाउनु हुने छैन।
मानौँ तपाईं कुनै काम गर्ने गर्नु हुन्छ। त्यो कामबाट तपाईं र तपाईंका नजिकका आफ्ना र प्रियतमहरूको जीवन सहज बनेको छ। तपाईंको जीवन सहज बनेको तपाईं समेत विश्वास गर्नु हुन्छ। उक्त कामलाई तपाईं अत्यन्त माया समेत गर्नु हुन्छ।
उक्त परिस्थितिबीच तपाईंले नियमित पुरा गर्ने तपाईंको काम पूजा कर्म हो। जुन बिन्दुमा तपाईंको काम पूजा कर्ममा परिवर्तन हुन्छ, त्यो बिन्दुबाट त्यो काम फगत कामको रूपमा नरहेर तपाईंको सोखमा परिवर्तित बनिसकेको हुन्छ। तपाईंको सोख पुरा गर्न तपाईंले पुरा गर्नुपर्ने तपाईंको जिम्मेवारीलाई तपाईंको धर्म भनिन्छ।
धर्म भनेको कुनै व्यक्ति वा समुदाय वा विचार समूहको अमुक पथ होइन, आफ्नो जिम्मेवारीलाई हरेक क्षण पुरा गर्ने प्रतिबद्धतामा कायम रहनु हो भन्ने विचारले सुसज्जित हुनु अध्यात्म हो।
वैदिक ग्रन्थहरूको शरीरको इन्द्रियहरूको सञ्चालकको रूपमा केन्द्रीय भूमिकामा रहेको सेन्ट्रल नर्वस सिस्टम वा केन्द्रीय मस्तिष्क प्रणालीलाई इन्द्रदेवको रूपमा उल्लेख गरेका छन्। पञ्च महाभूतहरूलाई आफ्नो नियन्त्रणमा लिएर शरीरका विशिष्ट कार्यहरू सम्पन्न गर्ने जिम्मेवारी प्राप्त इन्द्रदेवलाई देव (देवी र देव) हरुको पनि देवको संज्ञा दिन देवाधिदेव भनिने गर्दछ।
हाम्रो “मन” के हो भन्ने चर्चा भने यजुर्वेद र उपनिषदमा भेटिन्छ। शरीरमा सास वा प्राण रहनुलाई शरीर जिउँदो रहेको वा शरीरमा जीवन रहेको सङ्केतको रूपमा लिइन्छ। जतिबेला व्यक्ति गहिरो निद्रामा पर्दछ तर सपना देखेको हुँदैन त्यो अवस्था लाई सुषुप्त अवस्था भनिन्छ।
सुषुप्त अवस्थामा मानिस जीवित रहेको हुन्छ। उसको आफ्नै शरीरमा रहेको मस्तिष्क भने प्रभावहीन रहेर दिमागको अनुपस्थिति रहेको अनुभूति दिन्छ। निन्द्राबाट बिउँझँदा आफू भुसुक्कै निदाएको अनुभूति गरी सुषुप्त अवस्थाबाट आफू गुज्रेको जानकारी दिमागलाई प्राप्त हुन्छ। त्यो चिज वा शक्ति केन्द्र जुन दिमागसँग मिलेर काम गर्दछ तर दिमागभन्दा फरक देखिन्छ त्यसलाई “मन” भनिन्छ।
शरीरमा भएका सबै कुरा हुँदाहुँदै एउटा बिन्दुमा शरीर मृत हुन्छ। मृत्युको बिन्दुभन्दा केही क्षणअघि शरीरमा के थियो र शरीर जीवित रहयो? र पछि के कुरा शरीरले गुमायो र शरीर उस्तै रहँदा पनि मृत्यु वरण गर्नु प¥यो? त्यो अर्को अचम्मको विषय छ।
गहिरिएर विश्लेषण गर्दा तपाईंलाई यो महसुस हुन्छ कि जुन चिजलाई तपाईं आफू भनेर चिनाउनु हुन्छ त्यो तपाईंको पञ्च महाभूत निर्मित शरीरभन्दा फरक छ। त्यो मस्तिष्क वा मन समेत होइन।
शरीरमा सास रहनुलाई प्राण रहनु भनिने हुँदा शरीर जिउँदो रहँदा शरीरमा रहने प्राण अर्कै फरक चिज वा शक्ति केन्द्र रहेको अनुभूति हुन्छ। त्यो अनुभूति गरिएको फरक चिज वा शक्ति केन्द्रलाई वैदिक मान्यतामा आत्मा भन्ने गरिन्छ।
हामी देख्दछौं कि यो संसारमा कोही पनि अजम्मरी छैन। सबैको शरीर एक दिन मृत हुने र प्रकृतिमै विलीन भएर नष्ट हुने गर्दछ। ती सबै यथार्थहरुको समीक्षा गर्दा आत्मा भनिएको जिनिस नै यथार्थमा हामीले आफूले आफूलाई “म” भनी सङ्केत गर्ने चिज हो भन्ने अनुभूति हुन जान्छ। त्यो अजीवको “म” भन्ने जिनिसबारे ज्ञान लिने प्रक्रियालाई आत्मा बोध (ज्ञान) भनिन्छ।
वैदिक संस्कृत शब्द अध्यात्म दुई फरक शब्दहरूबाट बनेको ठानिन्छ। अध्ययन वा शिक्षा लिनु र आत्मन वा आफ्नो साँचो रूपको पहिचान गर्नु। चुरो अर्थमा बताउँदा उल्लेखित “म” भन्ने अजीवको जिनिस बारेको साँचो रूपको पहिचान वा जानकारी उपलब्ध गराउने ज्ञान तथा विज्ञान नै वैदिक मान्यताको अध्यात्म हो।
वैदिक मान्यतामा पुरुषार्थ प्राप्तिलाई जीवनको मुख्य उद्देश्य मानिन्छ। जब जीवनका चार उद्देश्यहरू प्राप्त हुन्छ तब पुरुषार्थ प्राप्ति भएको ठानिन्छ। पुरुषार्थ प्राप्ति अन्तर्गत निर्धारित चार उद्देश्यहरूधर्म, कर्म, अर्थ र मोक्ष हुन्। निर्धारित चार उद्देश्यहरूले जीवनभर उच्च नैतिक आचरणमा रहन र स्वधर्ममा रहेर आफ्नो कर्म सम्पन्न गर्ने अतुलनीय आत्मबल उपलब्ध गराउँदछ।
समय र परिस्थितिअनुरूप आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा आफ्नो अन्तरआत्माले नैतिक रूपमा सही ठह¥याएको कर्ममा सहभागी हुने कार्य व्यवहारिक धर्म कार्य हो। कर्म एक संस्कृत शब्द हो। त्यसले प्रेम, इच्छा र आनन्द प्राप्तिको सोख प्राप्तिको लागि गरिने गतिविधिहरुलाई जनाउँदछ।
नैतिक बन्धनमा बाँधिएर आफ्नो इच्छा र आनन्द प्राप्तिको सोख पुरा गर्ने कार्य कर्म हो। वैदिक मान्यतामा यौन पहेली व्यक्तिको प्रकृति प्रदत्त स्वतन्त्र र नैसर्गिक अधिकार हो। यौन कर्म अनिवार्य रूपमा हिंसाविहीन हुनु पर्दछ।
संलग्न व्यक्तिको आपसी इच्छा, चाहना र सहमतिमा यौन संसर्ग गरिनु पर्ने वैदिक मान्यताको आधारभूत अनिवार्यता हो। यौनलाई मानिसको काम इच्छा र आनन्द प्राप्तिको सोख पूर्ति गर्ने साधनको अलावा प्रकृतिद्वारा निर्देशित आफ्नो सन्ततिको बीज सुचारु गर्ने जिम्मेवारी पुरा गर्न बच्चाहरू जन्माउन समयोचित उपयोगमा ल्याउनु पर्ने विषयको रूपमा लिने गरिन्छ।
जीवनको महत्त्वपूर्ण लक्ष मोक्ष प्राप्तिलाई ठानिन्छ। मोक्ष प्राप्तिको प्रयासहरूलाई साकार गर्न मानिसलाई भौतिक धन सम्पत्तिहरूको आवश्यकता पर्दछ। नैतिक धर्ममा रहेर जीवनको नियमित गुजारा गर्न आफ्नै खुट्टामा आफैं उभिनु व्यावहारिक अनिवार्यता हो। तसर्थ जीवनमा नैतिक सीमामा रहेर आफ्नो जीवनका जरुरतहरू पूर्ति गर्न पर्याप्त धन प्राप्ति अनिवार्य ठानिन्छ।
नैतिक जीवन जिउनको लागि पर्याप्त धन प्राप्ति अनिवार्यको अवस्थामा धन प्राप्तिलाई आफ्नो जीवन सञ्चालन गर्ने जरुरत हुने माध्यमको रूपमा लिनुपर्ने तर धन प्राप्ति जीवनको उद्देश्यसँगै जोडिएको भने हुन नहुने वैदिक मान्यता छ। मोक्षलाई जीवनको परम लक्ष्य भनिन्छ। यसको अर्थ मुक्ति पाउनु भन्ने लाग्दछ।
लामो जीवनकालमा जीवन जिउने चक्र अनुरूप धर्म, कर्म, अर्थ जस्ता उद्देश्यहरू पूर्ति गर्दै गर्दा वा गरिसक्दा सक्रिय सांसारिक जीवनबाट उन्मुक्ति अथवा रिटायरमेन्ट लिएर जीवनको अन्तिम वर्षहरूमा आफ्नो क्षमता र हैसियत अनुकूल आफूलाई आत्मसन्तुष्टि दिने प्रकृतिको धर्म, कर्म, उपकार वा संन्यास लिने आदिजस्ता कार्यहरू मोक्ष कार्य अन्तर्गत राख्न सकिन्छ।
सांसारिक भौतिक बन्धनहरूबाट आफूलाई मुक्त गर्दै आफ्ना विगतहरू आफैले पुनरावलोकन गर्ने, गल्ती कमजोरी आदि देखिएमा त्यस बापतको क्षतिपूर्तिको लागि प्रयास गर्ने, भएका गल्तीमा क्षमा माग्ने, जीवन र जगतलाई बुझ्ने र सकेको सामाजिक सहयोग गर्ने, समय आए हाँसी खुसी सांसारिक जीवनबाट बिदा लिन मानसिक रुपमा तयार रहने कार्य आफ्नो शरीर जीवित रहँदाका मोक्ष अन्तर्गतका गतिविधिहरु हुन्।
सात्त्विक दिनचर्यामा रहने, इच्छुक व्यक्तिलाई आफूसँग भएका ज्ञानहरू बाँड्ने, आफ्नो कारणले अर्काको जीवनमा खुसी दिन प्रयत्न गर्ने, आफ्ना कारण कुनै प्रकारको हिंसा हुन नदिने, आफ्नो कारणले अर्कालाई दुःख हुन नदिने र सत्धर्ममा हाँसी खुसी भएर रहने जस्ता कुराहरू पनि मोक्ष अन्तर्गतसमेत पर्दछ।
जीवनलाई सात्विक मार्गमार्फत् खुसी र सुविधापूर्ण बनाउने कार्यलाई कर्म मानिन्छ। मोक्षको अर्थ आफ्नो अन्तरआत्माको माध्यमबाट आफू र आफ्नो अस्तित्वको कारकलाई देख्नु हो। मानिससँग उसका आत्मा रहुन्जेल मात्र ऊ जीवित रहन्छ।
हरेक मानिसको कर्मको साक्षीको रूपमा हुने उसको आत्माको जानकारीमा हुने कर्महरू सात्विक बनाएर मात्र आत्माले मुक्ति पाउने विश्वास गरिन्छ। वैदिक मान्यतामा आत्माले पटक पटक जन्मने र मर्ने जीवनको चक्रबाट गुज्रन नपर्ने अवसरको प्राप्ति लाई मुक्तिको प्राप्ति भनिएको छ।
–टोरन्टो, क्यानाडा
नेपालटच डटकमवाट
सिमेन्ट उद्योगले प्रयोग गर्ने कोइलाको मूल्य ५० प्रतिशतले बढेको छ, डिजेलको मूल्य शतप्रतिशत । अझ उदयपुर सिमेन्टमा त सरकारले बढाएको तलब भत्ता लागू हुने
देशको अर्थतन्त्रमात्र हैन, मुलुकको गतिलाई नै चलायमान बनाउने भनेको नै सरकारको नीति तथा कार्यक्रम र बजेटले हो । नीति तथा कार्यक्रम र बजेटको शुनिश्चितता
नेपाल चीन र भारतको बिचमा अवस्थित बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक अवस्था तथा बहुआयामिक प्राकृतिक बिबिधता भएको देश हो। बिश्वका ठूला देशहरु बिचको
प्रतिकृया दिनुहोस